सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हरिवन नगरपालिका वडा न ५ का स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।
महतो र श्रीमती बिच घरायसी विवाद हुँदा महतो आवेशमा आइ श्रीमती माथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो ।
श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन् । उनलाई हिरासतमा राखी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले बताए ।
अभियुक्तले ईलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेपछि प्रहरीलाई घटना बारे थाहा भयो र प्रहरी घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाही पठाइएको छ ।






