सर्लाही । महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुसरकम सहित रंगेहात पक्राउ परेका छन् । बुधबार दिउँसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
सम्सी गाउँपालिकाका लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।
सम्सी गाउँपालिकाको वडा नं. ५ मा संचालन भएको कोभिड १९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले निज लेखापाल र कार्यालय सहयोगीलाई १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।






