महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाकी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रंजिता झासहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झासहित सबइञ्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल खातुन र कोषाध्यक्ष रतन साहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
उनीहरुले आपसी मिलोमत्तोमा आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकाको वडा नं. १ खैरबामा बाटो ढलानको कामै नगरी कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गराएर १ लाख ४८ हजार ९१० रुपैयाँ सरकारी रकम हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम १ लाख ४८ हजार ९१० रुपैयाँ बिगो कायम गरी सजाय समेतको माग दाबी गरेको छ ।






