रौतहट । रौतहटको मौलापुर नगरपालिका–४ पतौरामा आमाछोरीको हत्या आरोपमा परिवारका तीन सदस्यलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । हत्याको आरोपित एक जना अझै फरार छन् ।
गएको असार १५ गते बिहान पतौराका २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेको थियो । बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरको सिँढीमुनि शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले हत्या आंशकामा अनुसन्धान अघि बढाएको थियो ।
घटनापछि मृतक कविताका श्रीमान् धीरेन्द्र साह, सासु मैनादेवी साह र जेठानी निशा देवीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । ससुरा नागेन्द्र साह अहिले पनि फरार छन् ।
प्रहरीले चारै जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सकेर अदालतमा पेस गर्दा न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले पक्राउ परेकाहरु निर्दोष छन् भन्ने तत्काल आधार नदेखिएकाले पुर्पक्षका लागि कारागार चलानको आदेश भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेकाहरुले अदालतमा ईन्कारी बयान दिएका थिए । मृतक कविताका बुवा विजयशंकर साहले ज्वाइँ धिरेन्द्र लगायत ४ जनाले हत्या गरेको भन्दै उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएका थिए ।
२०७७ मंसिरमा छोरीको विवाह गर्दा उनले ज्वाइँलाई दाइजोमा साइन मोटरसाइकल दिएका थिए । विवाहमा मागे जति सामान दिए पनि दुई वर्षपछि छोरीमार्फत सुनको सिक्री, औठी र पलङ मागेर हैरान पारेर नदिएको भन्दै हत्या गरेको विजय शंकरको आरोप छ ।






