बारा । हतकडीसहित गाउँलेको सहयोगमा फरार बनेका जितपुर सिमरा–१६ टाङीयाबस्तीका ३५ वर्षका सागर लामालाई प्रहरीले पक्राउ गरेको छ ।
हतियारसहित पक्राउ परेका लामालाई प्रहरी कार्यालय ल्याउने क्रममा स्थानीय र प्रहरीबीच भिडन्त भई फरार भएका उनलाई पक्राउ गर्न ठूलो मात्रामा बल प्रयोग गर्नु परेको थियो ।
दुई दिन अघि लामाको घरमा खान तलासी गर्दा हतियार, जनावरको अङगसहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगा मुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो ।
ठूला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि ईलाका प्रहरी निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।
छापामारी पछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो ।
उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको थियो ।
लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ । लामालाई हात हतियार र बन्यजन्तु ओसारप्रसार विरुद्ध कार्वाही हुने प्रहरी उपरिक्षक बोगटीले बताए ।






