नवलपरासी । स्कुल र क्याम्पस सञ्चालनको विषयमा विवाद हुँदा नवलपरासीको प्रतापपुर गाउँपालिकामा झडप भएको छ । झडपमा प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
पछिल्लो केही समयदेखि प्रतापपुरको त्रिभुवन माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको थियो । विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको छ ।
तर क्याम्पस प्रशासनले भने त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ । कक्षा कोठा उपलब्ध नगराएको भन्दै गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पसको मुल गेटको ताला फोडेका थिए ।
ताला फोडेपछि आक्रोशित विद्यार्थीले आज गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवाद हुँदा झडप भएको हो । ६७८ विद्यार्थी अध्ययनरत क्याम्पस भारतीय दुतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा हुँदै आएको छ ।






