पर्सा । पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा दिवा खाजाको नाममा अनियमितता भएको पाइएको छ । सरकारले पछिल्लो समय कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरेको छ । सो अनुरूप एक जना विद्यार्थीलाई रु १५ बराबरको खाजा विद्यालय सञ्चालन रहेको बखत व्यवस्था गर्नुपर्छ ।
सरकारले साताको ६ दिन खुवाउने खाजाको पनि वर्गीकरण गरेको छ । एउटै खाजा सधैं दिन पाइँदैन तर यहाँका कतिपय विद्यालयहरूले नियमितरूपमा एकै प्रकारका खाजाहरू दिने गरेका छन् भने कमै विद्यालयहरूले मात्र दिनपिच्छे फरक तालिका अनुसार खाजा उपलब्ध गराउने गरेका छन् ।
अहिले दिवा खाजाका लागि पनि विद्यार्थीहरूको संख्या बढाउने गरिएको पाइन्छ । दिवाखाजा वितरण हुने कुनै पनि सामुदायिक विद्यालयहरूमा कक्षा ६ सम्मका विद्यार्थीहरूको हाजिरी रजिस्टर र उपस्थिति संख्यामा कम्तीमा २५ देखि बढीमा शत प्रतिशत फरक हुने गरेको छ ।
जुनसुकै बखत र जहिले पनि जाँदा रजिस्टरमा उल्लेख भए अनुसारको विद्यार्थी कक्षा कोठामा भेटिंदैनन् । यसको प्रमुख कारण हो दिवाखाजा । यसअघि छात्रवृत्ति, पुस्तक, स्टेशनरी, पोशाक आदिमा अनियमितताका लागि विद्यार्थी संख्या बढाइन्थ्यो तर अहिले ती सबैमा बिस्तारै–बिस्तारै कडाइ गरिंदै गएपछि अहिले विद्यार्थी संख्या बढाउनुको कारणमध्ये दिवाखाजा देखिएको छ ।
पोखरिया नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयहरूको हाजिरी तथ्याङ्क र कक्षा कोठाको गणना गर्ने हो भने त्यहाँ कहिल्यै हाजिरी रजिस्टर सरहका विद्यार्थीहरू भेटिंदैनन् ।
कक्षा ५ सम्म अध्यापन हुने नेरा दलित प्रावि पोखरिया–६ श्रीसियाको खाजा रजिस्टरमा विद्यार्थी संख्या १५० उल्लेख छ तर सो विद्यालयमा ३० जनाभन्दा बढी विद्यार्थीहरू कहिले भेटिंदैनन् । यही अवस्था पोखरिया नपा–४ मा रहेको नेरा आधारभूत विद्यालय सतवरियाको छ ।
बालविकासदेखि कक्षा ६ सम्म अध्ययन हुने यो विद्यालयमा दिवाखाजा खाने विद्यार्थी संख्या २३० छ, कुल विद्यार्थी संख्या भने २५० देखाइएको छ तर विद्यालयमा १३० जनाभन्दा बढी विद्यार्थी कहिले भेटिंदैनन् । यी दुई सामुदायिक विद्यालय उदाहरण मात्र हुन् । १४ वटा पालिकामा रहेका सामुदायिक विद्यालयहरूको अवस्था अपवादबाहेक यस्तै छ ।




