काठमाडौं । नगद पाँच हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहिबार नियन्त्रणमा लिएको छ ।
जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका हुन् ।
स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन् । आबादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट वन अधिकृतलाई प्रमाणसहित पक्राउ गरिएको स्थानीय बताउँछन् ।
इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । उनले घटना बारे अनुसन्धान भइरहेकाले विस्तृतमा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीमार्फत जानकारी लिन सक्ने बताए ।
सुरुमा सहायक वन अधिकृत गिरीले छुट पुर्जीका लागि १० हजार नगद मागेको भण्डारीको आरोप छ ।






