सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका २ बाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । भारततर्फ लैजान थालेको अवस्थामा भारतीय सीमा नजिक सशस्त्र प्रहरीले जाँच गर्दा गाँजा फेला परेको हो ।
पर्सा गाउँपालिका ६ बस्ने ४५ वर्षीया सुदामादेवीले बोरामा हालेर टाउकोमा बोकी भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले चेकपोष्टले रोकेपछि उनी बोरा छाडेर भागेकी थिइन् ।
विशेष सुराकीको आधारमा सशस्त्रले उक्त स्थानमा चेक पोष्ट राखेर लागूऔषधको कडा निगरानी राखेको थियो । गाँजाको बोरा छाडेर भागेकी सुदामालाई सशस्त्रले पिछा गर्दै नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकी सुदामाकै बयानको आधारमा गाँजा व्यापारमा संलग्न सोही ठाउँका ५० वर्षीय राजकिशोर महतोलाई पनि पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सुदामादेवीको साथबाट बरामद गाँजा १० किलो २ सय ग्राम गाजाँसहित पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ ।






