काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोरा राहुल रोय र निजी सचिव विजय यादव चढेको सरकारी गाडी दुर्घटना भएको छ । शनिबार बिहान ४:३० बजे काठमाडौंको फर्पिङमा शिक्षा मन्त्रालयको बिएबी ७३८५ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको थियो ।
फर्पिङबाट काठमाडौं फर्किँदै गरेको स्कारपियोले एउटा मोटरसाइकल र कारलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कारपियोको आगाडिको भाग क्षति भएको छ । उक्त स्कारपियो यादवले चलाएका थिए । त्यस्तै, मोटरसाइकल र कारमा पनि क्षति पुगेको छ । दुर्घटनालगत्तै प्रहरीले रोय र यादवलाई पक्राउ गरेको थियो ।
तर, मन्त्री कुमारीको दबाबपछि दुवैलाई प्रहरीले आइतबार बिहान छाडेको हो । स्कारपियोमा रहेका दुवै जनाले मापसे गरेको र स्कारपियोले नियन्त्रण गुमाएकाले अर्को कार मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो ।




