काठमाडौं । सुन किन्ने बहानामा विभिन्न सुन पसलमा गर गहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर ४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी ७ घर भई हाल काठमाडौं महानगर १६ नयाँ बजार बस्ने ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर १६ माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई गर गहना किन्ने बहाना बनाइ चोरी गरी फरार हुने गरेको घटना अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।






