बझाङ । बझाङ जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सदरमुकाम चैनपुरमा मात्रै २० घरमा क्षति पुगेको छ । स्थानीय प्रशासनका अनुसार मानवीय क्षति नभए पनि २० घर भत्किएको हो ।
बझाङमा १२ वटै पालिकामा पुराना तथा कच्ची घर र केही विद्यालयमा समेत क्षति पुगेको छ । भूकम्पबाट त्रसित स्थानीहरू सडक र खुला चौरमा बसेका छन् । भूकम्पका कारण विद्युत अवरोध भएको छ भने राजमार्गमा समेत पहिरो गएको प्रहरीले जनाएको छ ।
टिमुर टिप्न लेक गएका मनमती धामी पहिरोमा परेर बेपत्ता भएको स्थानीयहरूले प्रहरीलाई खबर गरेका छन् । त्यस्तै जयपृथ्वी नगरपालिकाको जालपा मावि र सत्यवादी माविका ५ जना विद्यार्थी घाइते भई जिल्ला अस्पतालमा भर्ना भएका छन् । भूकम्पका कारण स्कुलमा भागदौड मच्चिएको थियो ।
त्यस्तै बझाङ जिल्ला अस्पतालमा भूकम्पको त्रासले सुत्केरीलाई बाहिर प्रांगणमा ल्याएर सुत्केरी गराइएको छ भने जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगरमा काम गरिरहेका २ जना श्रमिक गम्भीर घाइते भएका छन् । पराकम्पन आउने क्रम जारी छ ।






