जनकपुर । जनकपुर बिग मार्टमा आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अचानक आगलागी भएको हो । राति लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको छ ।
जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।
सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताएका छन् । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।
मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएका थिए । आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादव उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।






