धनुषा । धनुषाको कमला नगरपालिका ४ की एक जनप्रतिनिधिका श्रीमानले महिलामाथि दुर्व्यवहार तथा कुटपिट गरेका छन् । पीडित महिलाले वडा सदस्यकी श्रीमान प्रलाद सल्हैता यादवले मेलामा किनेको खेलौनाको पैसा लिन आफूलाई घरमा बोलाएर दुर्व्यवहार तथा कुटपिट गरेको भन्दै वडा कार्यालयमा उजुरी दिएपछि घटना बारे खुलेको हो ।
महिलाले निवेदन दिएपछि वडाध्यक्ष दीपक गोहिबारले उनलाई छलफल गराइदिने आश्वासन दिएका छन् । तर, वडा अध्यक्षबाट आफ्नो माग सुनुवाइ नभएपछि पीडित महिला समाजका अगुवाहरुसमक्ष न्याय माग्दै हिँडेपछि घटना बाहिरिएको हो ।
आर्थिक अवस्था कमजोर भएकाले ती महिलाले दशैं मेलामा खेलौनाको पसल गरेकी थिइन् । उनको पसलबाट कार्तिक १० गते प्रलादले ५० रुपैयाँको खेलौना किनेका थिए । प्रलादले भनेका थिए, ‘खेलौनाको रुपैयाँ घरमै आएर लिनू ।’
सुरुमा महिलाले खेलौनाको रुपैयाँ लिन छोरालाई प्रलादको घर पठाएकी थिइन् । तर, प्रलादले ‘तिमी आफ्नी आमालाई नै पठाउ, अनि रुपैयाँ दिन्छु’ भनेर छोरालाई फर्काएका थिए । त्यसपछि महिला आफै घरमा पैसा माग्न जाँदा प्रलादले दुर्व्यवहार तथा कुटपिट गरेको ती महिलाले बताएकी छन् ।
वडाध्यक्ष गोबिहार नेपाली कांग्रेसबाट जितेका हुन् । आरोपित प्रलादकी श्रीमती पनि कांग्रेसबाटै जितेकाले घटना ढाकछोपको प्रयास भइरहेको स्थानीय बताउँछन् । महिलामाथि अन्याय गरिएकाले प्रलादमाथि कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।





