काठमाडौं । नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन् ।
लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन् । नागरिकता लगायत अन्य प्रशासनिक काममा समेत बाधा पुगेको छ ।
इलाका प्रशासनबाट हुने सम्पूर्ण कामकाज ठप्प हुँदा यस क्षेत्रका सेवाग्राही समस्या परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तै घर फर्कन बाध्य भएको नेकपा (माओवादी केन्द्र) सर्केगाड गाउँपालिका समिति अध्यक्ष छवि थापाले बताए ।
कार्यालय बन्द हुँदा नागरिकले भदौं महिनादेखि नागरिकता बनाउन समेत नपाएको अध्यक्ष थापाको भनाइ छ । नागरिकता मात्र नभएर इलाका प्रशासनबाट हुने कुनै काम गर्न नपाएको उनले बताए ।




