महोत्तरी । महोत्तरीको गौशालामा बोक्सीको आरोपमा कुटपिट गरिएको छ । बोक्सीको आरोपमा दलित परिवारका चार जनालाई कुटपिट गर्दा उनीहरु घाइते भएका छन् ।
गौशाला नगरपालिका ११ लक्ष्मिनियाँका राजेन्द्र चमारको घरभित्र पसी कुटपिट गर्दा उनकी श्रीमती एतवरिया देवी, छोरा सुरेन्द्र राम, बुहारीहरु समतोलिया देवी र सुन्दरदेवी घाइते भएका हुन् ।
घाइतेहरूको जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय नथुनी भनिने चन्द्रशेखर यादवको अगुवाइमा घरभित्र पसेका चार जनाको समूहले कुटपिट गर्दा उनीहरु घाइते भएका हुन् ।
कुटपिट पश्चात पिडितले इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएका छन् । कुटपिटमा संलग्न तीन जना फरार रहेका छन् । उनीहरूको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, गौशाला ११ का धामी विनोद पासवानलाई प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । उनलाई म्याद थपका लागि महोत्तरी जिल्ला अदालत लगिएको छ।
धामी पासवानले टुनामुना लगाएर बालबालिका बिरामी भएको बताएपछि स्थानीयहरू बोक्सीको आरोप लगाउँदै एतवरियालाई कुटपिट गर्न गएका थिए ।




