सिरहा । सशस्त्र प्रहरीले सिरहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका १ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स ९ प ४९७१ यमहा सोलुटो मोटरसाइकलमा सवार तीन जनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गगा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका ४ का ३५ वर्षीय संजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल, एउटा म्याग्जिन, २ थान गोली, नगद १ लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको छ ।
उनीहरू अपराघिक गतिविधिमा संलग्न रहेको र भविष्यमा अप्रिय घटना घटाउन सक्ने शंकास्पद भएकाले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।






