वीरगंज । पर्साको सीमावर्ती क्षेत्रका बजारहरू चाडपर्वमा पनि सुनसान रहेका छन् भने छिमेकी भारतको सीमावर्ती बजार भने भीडभाडयुक्त देखिएको छ । सीमावर्ती बजारहरूमा सामानहरू नेपालको तुलना सस्तोमा पाउने हुँदा ग्रामीण क्षेत्रका बासिन्दाहरू सीमावर्ती क्षेत्रमा गएर चाडपर्वको सामान खरीद गर्ने क्रम बढेको छ ।
ठोरी गाउँपालिकाका मानिसहरू सीमावर्ती भारतीय बजार भिखनाठोरी, जमुनिया, नरकटियागंज र मानपुर बजारमा किनमेलका लागि जाने गरेका छन् । बितेको दशैं र आउँदो दीपावली, छठको लागि नेपाली उपभोक्ताहरू भारतीय बजारमा गएर किनमेल गरिरहेको पाइएको छ ।
यसैगरी भिस्वा र सो आसपासका मानिसहरूको गन्तव्य सीमावर्ती सिक्टा बजार रहेको छ भने जीराभवानी, जगरनाथपुर लगायतका मानिसहरू भंगाहा, इनर्वा, मैनाटार, पकाहामैनपुर, विन्ध्यवासिनी र वीरगंजका मानिसहरू रक्सौल बजार जाने गरेका छन् । खाद्यान्न, कपडा, कस्मेटिक सामानका लागि अधिकांश मानिसहरूको गन्तव्य सीमावर्ती भारतीय बजार नै हुने गरेको छ ।




