काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क झाडीमा परिणत भएको छ । करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको पार्कका संरक्षण र प्रवद्र्धनको अभावमा संरचनाहरु दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन् ।
पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्यका साथ निर्माण गरिएको पार्क व्यवस्थापनको कमजोरीका कारण दिनानुदिन अगोगति तर्फ लागेको हो । वनटोल महिला सामुदायिक वनको करिव १४ रोपनी क्षेत्रफलमा फैलिएको ‘शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ ।

पार्कका घुम्ने स्थानमा जताजतै झाडी र फोहोर हुँदा पर्यटकको आवागमन शुन्य बराबर छ । पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि मात्र नभई राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि मध्यनजर गर्दै बनाइएको थियो ।

तर अहिले जताजतै उम्रिएको घाँस र फोहरहरुले गर्दा पार्कमा जान कसैले रुचि राख्दैनन् । पार्कमा हाल शहीद स्तम्भ, ४ वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरु रहेका छन् । पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ । सो पार्कको व्यवस्थापन हाल शहीद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ ।

राज्यको करौडौं लगानी भइसकेको सो पार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सके पर्यटकीय स्थलसँगै चन्द्रनिगाहपुरवासीको लागि खुला स्थलको उत्तम विकल्प पनि बन्न सक्ने देखिन्छ । यसको लागि सरोकारवाला सबैको ध्यान जानु अत्यावश्यक देखिएको छ । तस्विर : अनमोल कार्की




