अर्घाखाँची । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादमा एक वृद्ध महिलाको हत्या भएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ ।
मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १ रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यही कात्तिक १४ गते बीस रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए ।
झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी बृद्धा भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् । हत्यापछि बृृद्धासँग भएको नगद र सुनका गरगहना समेत चोरेर नेपाली फरार भएका थिए ।
अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक पनि गरिएको छ । यसैबीच अर्घाखाँचीको जलुकेमा बीस वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०६० फागुन १३ गते साविक जलुके गाविस ६ हाल शीतगङ्गा नगरपालिका ८ चरिङ्गेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गाम निवासी केशलाल घर्तीलाई बीस वर्षपछि प्रहरीले पक्राउ गरेको हो । रोल्पाको सुनछहरी गाउँपालिका ३ स्थित बाहिरी गाममा लुकिछिपी बसेको थाहा भएपछि ठाडास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
मृतक नन्दाको एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा उनलाई डरत्रास देखाएर पैसा माग्दा नदिएपछि केशवलालले हत्या गरेका थिए । अहिले उनीमाथि जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




