सर्लाही । सर्लाहीमा प्रहरीले नक्कली रासायनिक मल बनाउने उद्योग फेला पारेको छ । नक्कली रासायनिक मल बनाएर सर्वसाधारणलाई ठगी गरिरहेको गिरोहलाई सर्लाही प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
सर्लाहीको कौडेना गाउँपालिका ५ छपकैयाका ३० वर्षीय सुनिल कुमार यादवले आफ्नै घरमा नक्कली रासायनिक मल बनाएर बेच्ने गरेको रहस्य खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले यादवको घरलाई खानतलासी गर्दा नक्कली रासायनिक मल बनाउने विभिन्न सामग्रीका साथै रासायनिक मलको खाली नयाँ बोराहरु सयौँको संख्यामा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतीय युरिया मल १४ बोरा, नेपाली पोटास मल ४ बोरा, भारतीय चिनी २ बोरा, युरिया मलको ४० ओटा खाली बोरा, टाटा नुनको खाली १११ बोरा तथा कृषक पोटास लेखिएको खाली ५० बोरा बरामद भएको छ ।
साथै प्रहरीले यादवको घरबाट दुई ओटा भारतीय मोटरसाइकल पनि बरामद गरेको छ । बिआर ५५ ए १६०४ र बिआर ३० ए ६०४२ नम्बरको मोटरसाइकलसहित प्रहरीले २८ वर्षीय सुनिल कुमार यादव र मलंगवा नगरपालिका ५ का १९ वर्षीय विशाल यादवलाई नियन्त्रणमा लिएको छ ।
नक्कली मल कारखाना र संचालकहरुको विषयमा आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।




