वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । यसैगरी, प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
कात्तिक २४ गते वीरगंज महानगर ८ सिटी मार्केटबाट बारा, कलैया उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय उमेश कुमार र वीरगंज महानगर–३१ कोनिया निवासी २४ वर्षीय ऋषिलाल पटेललाई नक्कली नेरुसहित पक्राउ गरिएको जिप्रका पर्साले जनाएको छ ।
अभियुक्त दुई जनाबाट एक हजारका ३८ थान नक्कली नेरु बरामद भएको र निजहरूविरुद्ध खोटा चलन सम्बन्धी कसूरमा मुद्दा चलाइएको जिप्रका पर्साले जनाएको छ । उनीहरूले सो बजारमा कपडा खरीद गर्ने क्रममा नक्कली रुपैयाँ दिएको र सोको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी, वीरगन्ज महानगरपालिका ४ गण्डकबाट असोज २८ गते लागूऔषधसहित पक्राउ परेका एक जनालाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका ४ का ३५ वर्षीय ध्रुव राम रहेका छन् ।
वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना २१ प ४५८६ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकी खान तलासी गर्दा रामले मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रङको रबरको खोलभित्र सेतो प्लास्टिकमा लुकाइ राखेको लागूऔषध खैरो हेरोइन ६ ग्राम ५ सय मिलि ग्राम फेला परेको थियो । उनीमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।






