रौतहट। रौतहटको कटहरियामा दुई युवा समूहबिच ग्याङ फाइट हुँदा तीन जना गम्भीर घाइते भएका छन् । बुधबार राति करिब ८ बजे कटहरिया नगरपालिका भवन छेउमा विवेक जैसवाल र अन्जित कुमार साह नेतृत्वको युवा समूहबिच ग्याङ फाइट भएको थियो ।
ग्याङ फाइटमा फलामको रड, कैँची लगायत प्रयोग गरिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । ग्याङ फाइटमा २० वर्षीय विवेक जैसवाल पछाडिबाट घाँटीमा कैँची प्रहारबाट गम्भीर घाइते भएका छन् ।
त्यस्तै अर्को समूहका अन्जित कुमार साह र महेश कुशवाहा टाउकोमा फलामको रड प्रहारबाट घाइते भएका छन् । उनीहरूको कटहरियामा सामान्य उपचारपछि थप उपचारको लागि राति नै वीरगन्ज पठाइएको थियो ।
घाइतेहरूको वीरगन्ज स्थित सूर्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ दुवै समूह बिचको विवाद बढ्दै जाँदा ग्याङ फाइटमा परिणत भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।




