महोत्तरी । महोत्तरीमा एक छात्रालाई बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन् । बिहिबार दिउँसो विद्यालयमै ७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।
गौशाला ११ बटौवा टोल बस्ने ३३ वर्षीय साह विद्यालयका सञ्चालक समेत हुन् । टिफिनको समयमा चौथो तल्लाको छतमा लगेर प्रलोभन देखाएर उनले बालिकालाई बलात्कार गरेको जाहेरीको आधारमा साहलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप गिरीले जानकारी दिए ।
उनका अनुसार अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको हो । साहलाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थुनामा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




