सुर्खेत । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्रबार साँझ आठविसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा ना ३ ख ५२०७ नम्बरको रात्रि बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीका अनुसार गाडीको ठक्करबाट आठविसकोट नगरपालिका वडा नम्बर ११ निवासी अन्दाजी ३८ वर्षीय गणेश परियारको मृत्यु भएको हो । आठविसकोटबाट नेपालगञ्जका लागि छुटेको रात्रि बसको ठक्करबाट अन्य दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा आठविसकोट नगरपालिका १४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षिय राजेन्द्र पोखरेल छन् । दुवै जनालाई उपचारका लागि आठविसकोटको राडीस्थित नगर अस्पतालमा ल्याइएको नगर प्रमुख केसीले जानकारी दिए ।
घाइते मध्य पोखरेलको अवस्था गम्भिर रहेको बताइएको छ । रोकिराखेको बस यात्रुहरु चढ्ने बेला हुत्तिएर ठक्कर दिएको बताइएको छ । प्रहरीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।




