रौतहट । डिभिजन वन कार्यालय, रौतहटले पिकअप गाडीमा लोड काठसहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका ८ खैरघारी टोल बस्ने पिकअप चालक बुद्ध थिङ, सहचालक सञ्जय लामालाई काठसहित पक्राउ गरेको हो ।
बुद्धले चलाएको पिकअपमा पाँच वटा सालको गोलिया बरामद भएपछि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय, रौतहटले जनाएको छ । गुजरा नपा ३ पशुपतिटोलको धनसर–जङ्गलसैया सडकखण्डमा प्रदेश २–०३–००१ च–५६७१ नम्बरको पिकअप गाडीमा पाँच वटा सालको गोलिया भेटिएको हो ।
सालको गोलिया लोड गरेर लैजाँदै गरेको अवस्थामा थिङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । प्रहरीले बरामद गोलिया ८० क्युफिट भएको जनाएको छ ।
सुरक्षाकर्मी र वनकर्मीको टोलीलाई देखेर पिकअप चालक र सहचालक गाडी छोडी भाग्न खोजेको तर सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्न सफल भएको जिप्रका, रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए ।






