काठमाडौं । रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पोखरा महानगरपालिका ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी हुनेमा संस्थाका अध्यक्ष रमण पौडेलदेखि पोखरा महानगरपालिका २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी छन् । साथै सञ्चालक समितिका पदाधिकारी र सदस्य, लेखा समिति, कानुनी सल्लाहकार लगायतका रहेका छन् ।
अध्यक्ष पौडेल र सिइओ अधिकारी ४ कात्तिकदेखि नै कास्की प्रहरी हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएका ३० जनामध्ये तीन जना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । एक बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि परेको उजुरीपछि पौडेल र अधिकारी पक्राउ परेका हुन् ।
यसअघि सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकार अन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए ।






