काठमाडौं । काठमाडौंबाट विभिन्न हातहतियार सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिकसहित ४ जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
कुशलले हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका १४ नैकापबाट उनलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र दुई नाले टोटावाल बन्दुक १ थान बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बर्दिया, गुलरिया नगरपालिका ४ रामपुर टापु बस्ने ६५ वर्षीय गोपाल सिंह रानाक्षेत्रीलाई भरूवा बन्दुक १ थानसहित बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीको घरमा अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई घरमा लुकाई राखेको उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
त्यस्तै पर्वत, मोदी गाउँपालिका ६ गिज्याङस्थित गिज्याङ सामुदायिक वनबाट भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशान्त नेपाली र धादिङ घर भएका ३० वर्षीय गर्ज घलेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






