रौतहट । माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ भने एउटा गोरु मरेको छ । खेत जोतिरहेका बेला विद्युतको तार खसेर तारले छुँदा बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हलो जोतिरहेका बेला नजिकै रहेको ११ हजार भोल्टको तार खसेर करेन्ट लागेपछि पण्डितको ज्यान गएको र गोरु मरेको जिल्ला प्रहरी रौतहटले जानकारी दिएको छ ।
घटना पछि जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक झलक शर्माको टोली पुगेर घटनाको अनुसन्धान गरेको थियो । विद्युतको पोलबाट नांगो तार खेतमा खसेर मानिसको ज्यान गएको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।




