बारा । तलब माग गर्दै धर्नामा बसेका सिम्रौनगढ नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयका शिक्षकहरू र प्रहरी बीच गत बुधबार भएको झडपको घटनालाई लिएर शुक्रबार पनि सिम्रौनगढ नगरपालिका तनाव ग्रस्त रह्यो ।
बुधबारको घटनामा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक लक्ष्मी मुखिया बिनको मृत्युलाई लिएर बिहिबार कलैयामा प्रदर्शन गरेका सिम्रौनगढवासीले शुक्रबार सिम्रौनगढमा मुख्यमन्त्री सरोजकुमार यादव, नगरप्रमुख किशोरीप्रसाद कलवार र इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रमुख रविभूषण साहको पुतला दहन गरेका थिए ।
स्थानीय रामएकबाल यादवको अगुवाइमा नगरपालिका कार्यालय नजिकबाट विरोध जुलूस निकालेर नगरपरिक्रमापछि तीन जनाको पुतला दहन गरिएको र माछा बजारमा कोणसभा भएको थियो । कोणसभामा वडाध्यक्ष अवधेश सहनीले मुख्यमन्त्री सरोजकुमार यादव, नगरप्रमुख किशोरीप्रसाद कलवार र इप्रका प्रमुख रविभूषण साहको राजीनामा माग गरेका छन् ।
उनले काम गरेका शिक्षक, कर्मचारीको तलब नदिने, विरोधमा बसेका शिक्षक, कर्मचारीहरूमाथि दमन गर्ने र प्रहरीबाट गोली चलाउन लगाएर व्यक्ति हत्या गरेको आरोप लगाए । साथै करार, अस्थायी कर्मचारी सङ्घका अध्यक्ष नितेश यादवले तलब नदिउन्जेलसम्म धर्ना लगायतका आन्दोलनका कार्यक्रमहरू जारी रहने बताए ।
यता गत बुधबार प्रहरीको गोली लागेर मृत्यु भएका बिनको शव परिवारले बुझेको छैन । उनको शव नारायणी अस्पतालमा नै राखिएको छ । मृतक परिवारलाई क्षतिपूर्तिसहित घटनाका दोषीहरू माथि कारबाही हुनुपर्ने आन्दोलनकारीको माग छ ।
सिम्रौनगढ नपाको सामुदायिक विद्यालयहरूमा कार्यरत करार, अस्थायी र बालविकासका शिक्षक, कर्मचारीहरूले १४ महिनादेखि तलब नपाएको भन्दै नपा कार्यालय अगाडि धर्ना दिएका हुन् । बुधबारको घटनापछि बिहिबार धर्नामा नबसेका शिक्षकहरूले शुक्रबार पनि धर्ना जारी राखेका थिए ।
यस्तै शिक्षकहरूको आन्दोलनमा समर्थन जनाउँदै नेपाली कांग्रेसबाट जितेका आठ जना वडाध्यक्ष वडा कार्यालय बन्द गरेर एक सातादेखि आन्दोलनमा छन् । सिम्रौनगढ नपामा ११ वटा वडा छन्, जसमा दुई जना लोसपा र एक जना नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष गरी तीन जना मात्र नगरप्रमुख कलवारको पक्षमा छन् ।




