काठमाडौं । वैशाख २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोरोना परीक्षणमा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभा एक जना गरी १९ जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद् सचिवालयले जनाएको छ ।
वैशाख २२, २३ र २४ गते तीन दिनमा १२ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको र १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा स्वाब लिनुअघि नै केही मन्त्री र सांसदलाई कोरोना संक्रमण पुष्टि भइसकेको थियो । न्यौपानेले संचारमाध्यमहरुलाई उपलब्ध गराएको विवरण अनुसार १ सय ६० जना मध्ये १९ जना सांसद छन् ।
संक्रमित अन्यमा संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिव, सुरक्षाकर्मी, मर्यादा पालक, संसदीय मामिला पत्रकार रहेका छन् । वैशाख २७ का लागि आह्वान गरिएको प्रतिनिधि सभाको विशेष अधिवेशन अघि कोरोना परीक्षण गरिएको हो ।
झलनाथ खनाल, भानुभक्त ढकाल, पार्वती डिसी चौधरी, राजेन्द्र प्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लाल बाबु पण्डित, लक्ष्मणलाल कर्ण, नरमायाँ ढकाल, रामबाबु यादव, गोपाल बहादुर बम, नमीता कुमारी चौधरी, शान्तिमायाँ तामाङ पाख्रिन र विना कुमारी श्रेष्ठ संक्रमित भएका छन् ।
त्यस्तै रेनुका गुरुङ, जुली कुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेश कुमार राई, पुष्पा कुमारी कर्ण कायस्थ, मुकुन्द न्यौपाने, माया देवी न्यौपाने, बिना मगर, भरत कुमार शाह, प्रमोद शाह, दीपक प्रकाश भट्ट र महेश बस्नेतलाई समेत संक्रमण देखिएको छ ।






