वीरगंज । चीसोको कारण पर्साका ग्रामीण क्षेत्रमा बालबालिकाहरू घाममा राखेर ६ महिने अर्धवार्षिक परीक्षा लिइएको छ । विद्यालयले बालबालिकाहरूलाई चौरमा राखेर परिक्षा लिएको हो ।
कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूलाई घामको न्यानो प्रदान गर्दै परीक्षा लिएको जगरनाथपुर गापा ३ गढैयास्थित बाबा बैधनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक बादशाह साहले बताए ।
उनले विद्यालयको भौतिक संरचना पनि नभएकोले चौरमा घाम तापेर परीक्षा लिनुपरेको बताए । पर्साको ग्रामीण क्षेत्रका पालिकाहरूमध्ये ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गापा र पर्सागढी नपाका सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक परीक्षा मङ्सिर २८ गते नै समाप्त भइसकेको छ ।
यस्तै जीराभवानी, जगरनाथपुर, धोबिनी, पकहामैनपुर र छिपहरमाई गापामा हिजो सकिएको छ । भौतिक संरचना भएका विद्यालयहरूले कक्षा कोठामैं राखेर अर्धवार्षिक परीक्षा लिएका र भौतिक संरचना नभएका विद्यालयहरूले चौरमा घाम तपाएर बालबालिकाहरूको परीक्षा लिएका थिए ।




