रौतहट । भ्रष्टाचार गरेको भन्दै एक प्रधानाध्यापकविरुद्ध १३ जना अभिभावकका अगुवाहरुले छानबिन गर्न उजुरी दिएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका ७ को आधारभूत विद्यालय उचिडिहका प्रधानाध्यापक मुक्तिप्रसाद कुशवाहाले शिक्षक नियुक्ति, दिवा खाजा, भवन तथा शौचालय निर्माण लगायतमा अनियमितता गरेको भन्दै उजुरी दिएका हुन् ।
२०७६ साल पुसदेखि विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएतापनि प्रधानाध्यापक कुशवाहले मनोमानी ढंगले शिक्षक नियुक्ति, विद्यार्थीभन्दा बढी दिवा खाजाको पैसा निकासा, भवन तथा शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै उजुरी परेको छ ।
यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माणको लागि गत आर्थिक वर्ष २०७८/७९ को ३६ लाख र आर्थिक वर्ष २०८०/८१ को नगर कोषबाट गरी जम्मा ७१ लाख व्यक्तिको नाममा रहेको जग्गामा भवन निर्माण गरिरहेकाले सो काम रोक्का गरी, नियमानुसार भवन निर्माण कार्य गराउन एवम् भ्रष्टाचारको छानबिन गरी दोषिमाथि कारवाहीको माग गर्दै नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृतलाई उजुरी बुझाएका छन् ।
उनीहरुले उजुरीको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा इकाइ कार्यालय रौतहटलाई दिएका छन् ।






