सर्लाही । २०७७ साल कात्तिक १० गते राती करिब ८:३० बजे नवलपर–मलंगवा सडक खण्डमा नवलपुर चौक भन्दा करिब ७ सय मिटर दक्षिण एउटा नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दियो । लालबन्दी नगरपालिका २ स्थित नवलपुर चौक भन्दा करिब ७ सय मिटर दक्षिण नवलपर–मलंगवा सडक खण्डमा एउटा नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएर उक्त ट्याक्टर फरार भयो ।
ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी वर्ष १८ का अंकुष पासवानको मृत्यु भयो । घटना पश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले दुर्घटना गराउने ट्याक्टरको खोज तलास सुरु गर्यो । खोज तलास गर्दै जाँदा प्रहरीले दुर्घटनामा संलग्न नै नभएको लालबन्दी नगरपालिका २ का नेपाल आर्मीका अवकाश प्राप्त सुवेदार मेजर थिर बहादुर खड्काको रातो रंगको ट्याक्टर उनको घरैबाट नियन्त्रणमा लियो ।
मृतक पासवानको घर परिवार समेतले मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको रंग निलो भएको र नम्बर नखुलेको बयान दिएको भएपनि उक्त ट्याक्टरका चालक फरार भएकाले दुर्घटनामा संलग्न नै नभएको रातो रंगको ट्याक्टरका साहु खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखायो । खड्काको ट्याक्टरले दुर्घटना नगराएको भएपनि खड्कालाई माघ १५ गतेदेखि फाल्गुन ७ गतेसम्म प्रहरीले सिन्धुली कारागारमा राख्यो ।
फाल्गुन ७ गते डेढ लाख रुपैया धरौटी बुझाएर जेल मुक्त भएका खड्का फरार ट्याक्टर चालकको खोजी गरि सजाय दिन र अहिले पनि निर्दोष हुँदा हुँदै कारागारमा बसेर कैदी जीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी नगरपालिका २ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको ट्याक्टर र ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन हार गुहार गरिरहेका छन् ।
आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरु समेत प्रहरीलाई बुझाइसकेको भएपनि हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र यो विषय आफ्नो निकायबाट अदालतमा गइसकेकोले अदालतमै जान भन्दै आएको पीडित ट्याक्टर साहु खड्काले बताउनु भयो ।
अरुले नै गरेको अपराधको सजाय भोगेर थुना मुक्त भएपछि अदालतिय प्रक्रिया मार्फत भएपनि वास्तविकता बाहिर ल्याउने पक्षमा आफुहरु रहेको खड्काले बताएका छन् । एक निर्दोष ब्यक्ति अहिले न्यायको लागि प्रहरी प्रशासन तथा न्यायालयको आश्रय खोजि रहेका छन् भने दुर्घटना गराउने ट्याक्टर कुन हो र कहाँ छ भन्ने विषयमा प्रहरीले थप खोजी कार्य गरेको छैन ।
यता, प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का, माथिल्लो निकायलाई पठाएको टिपोट, रेफर गरि पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केर मेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैँ रहेको र सोही निर्दोस ट्याक्टरलाई कार्बाहीको भागेदार बनाउने पक्षमा रहेको देखिन्छ ।
नम्बर नखुलेको ट्याक्टरले दुर्घटना गराएको भनिएको र सो ट्याक्टरका चालक फरार हुनु र सो ट्याक्टरका सह चालक लालबन्दी २ का कपिल (नाम परिवर्तन) ले आफु सह चालक रहेको गाडिका साहु विनय (नाम परिर्वतन) को ट्याक्टरले दुर्घटना गराएको बताएका छन् ।
सो समय उक्त ट्याक्टर रामशरण (नाम परिवर्तन) चालक रहेको कपिलले बताई रहेको भएपनि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापा आफु पञ्छीन मौन बसेका छन् ।
दुर्घटनामा संग्लग्न सवारी साधनका सह चालकले सबै विवरण बताउनु, उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु, पीडितले खड्कासँग क्षेतीपुर्तिको माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का, माथिल्लो निकायबाट आएको पत्र लगायतका कागजातमा केरमेट गर्नुले प्रहरी र दुर्घटनामा संग्लग्न सवारी साधनका साहु विनय बिचको मिलेमतो रहेको आशंका पीडित पक्षले समेत गर्न थालेका छन् ।






