सर्लाही । सर्लाहीमा एक वृद्धको हत्या भएको छ । जिल्लाको हरिपूर्वा नगरपालिका ३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको हो । राय आफ्नै गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हिजो बुधबार दिउँसो ३ बजेतिर राय गोठमा मृत फेला परेका थिए । मृतकको शव अझै घटनास्थलमा नै रहेको छ । सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले हिजो घटनाको प्रारम्भिक अनुसन्धान गर्दागर्दै रात परेकाले शव घटनास्थलमै राखिएको बताए ।
उहाँले आज घटनास्थलको थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिने जानकारी दिए । घटनास्थलको अनुसन्धानका लागि धनुषाको लालगढमा रहेको नेपाल प्रहरीको गणबाट तालिम प्राप्त कुकुर ल्याइएको छ ।
“घटना शङ्कास्पद देखिएकाले कुकुर समेत मगाएर अनुसन्धान गर्दैछौँ,” धितालले भने,“ रात परेकाले हिजो विस्तृतमा घटनास्थल हेर्न पाएनौँ, अब आज सबै हेरेपछि मात्रै शव घटनास्थलबाट उठाउँछौँ ।”
प्रहरी उपरीक्षक धितालका अनुसार मृतकको टाउको पछाडि चोट पटक देखिएको छ । मृतक रायको घर र गोठ दुवै एकान्त ठाउँमा रहेका छन् । घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख धितालसहितका प्रहरी अधिकारीको टोली अहिले हरिपूर्वातर्फ जाँदैछ ।




