काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका २ पदाधिकारीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
समितिका पदाधिकारीहरू लक्ष्मण अधिकारी, प्रेमप्रसाद भण्डारीसमेत ४ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर भएको हो । अन्य २ जनामा समितिकै सदस्य मोहनप्रसाद कुइँकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेल छन् ।
ठेक्कामा लगाएपश्चात सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी दिने क्रममा उनीहरूले १ लाख रुपैयाँ घुस माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
‘उपभोक्ता समितिका पदाधिकारीहरूसँग मिलेमतो गरी घुस-रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेकोले निजलाई बिगो १ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदाबी लिई बिहिबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




