काठमाडौं । पोखरामा सडकमा गुडीरहेको बस ब्रेक फेल भई दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । बसमा सवार तीन जना घाइते भएका छन् ।
बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकस्थित सडकमा गुडीरहेको अवस्थामा अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
ब्रेक फेल भएपछि बस सडकको दायाँ किनारमा रहेको माटोको ढिस्कोमा ठक्कर खान पुगेको थियो । बसको ठक्करबाट भारतीय नागरिक ३० वर्षीया इश्रावती कुमारीको ज्यान गएको प्रहरीको भनाइ छ ।
पोखरा २७ स्थित लेखनाथमा जारी लेखनाथ महोत्सवमा बाटा ९गमला० बिक्री गर्न जाँदै गर्दा महोत्सवस्थलको गेट आगाडी उनलाई बसले ठक्कर दिएको थियो ।
बसको ठक्कर पछि घाइते भएकी उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँचको क्रममा मृत घोषणा गरिएको थियो ।
घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका ८ घर भएका ३६ वर्षका रामजी गन्धर्ब र उनकी श्रीमती ३० वर्षकी विष्णु गायक तथा पर्साको दिप नगरपालिका १ की ४६ वर्षीया चिजमाया गन्धर्व रहेकी छिन् ।
उनीहरूमध्ये रामजीको बायाँ खुट्टमा, विष्णुको दायाँ हातमा र चिजमायाको दायाँ खुट्टामा चोट लागेको छ । बसमा २० जना सवार रहेकामा अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।
घटनापछि खटिएको इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




