सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ बाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो ।
सोमबार साँझ प्रदेश २-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट लागूऔषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका ७ का ४० वर्षीय बैजु महरा र हरिवन नगरपालिका ३ घर भएका ३६ वर्षीय मदनबहादुर घिसिङ रहेका छन् ।
भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउँदै गर्दा ब्रम्हपुरी ५ मा चेकिङमा खटिएको प्रहरीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ५ हजार ८ सय १५ रुपैयाँसमेत बरामद गरेको छ ।
दुई वटा जुटको बोरामा लागूऔषध राखेर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट ५९२ बोतल ओनेक्स, स्पास्मो प्रोक्सिभन ट्याबलेट ९० पत्ता, नैराभेट १० लेखिएको ट्याबलेट ३ हजार पिस बरामद भएको प्रहरीले जनाएको छ ।




