काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका १ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३१ शंखमूलबाट पक्राउ गरेको हो । लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




