बारा । सिम्रौनगढ नगरपालिकामा चलेको विवाद तत्कालका लागि साम्य भए पनि शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले भने तलब, सेवा सुविधा पाउन सकेका छैनन् ।
सिम्रौनगढ नगरपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा कार्यरत अस्थायी, करार र बालविकासका शिक्षकहरूले १४ महिनादेखि तलब नपाएको भनेर दुई महिना पहिले आन्दोलन गरेका थिए । उनीहरूको आन्दोलनमा पछिल्लो समयमा स्थायी शिक्षक, कर्मचारीहरू समाहित भए ।
यसैगरी नगर अस्पतालमा पनि तलब सुविधा नपाएको भनेर स्वास्थ्यकर्मी, कर्मचारीहरू आन्दोलित थिए र लामो समयदेखि अस्पताल बन्द थियो । वडा कार्यालयहरूमध्ये नेपाली कांग्रेसमा आबद्ध आठ वटा वडा कार्यालय तलब सुविधा नपाएको भनेर बन्द थियो ।
यसैक्रममा सिम्रौनगढमा शिक्षक र प्रहरीबीच झडप पनि भयो र एक जना युवकको प्रहरीको गोली लागेर अनाहकमा ज्यान गयो । त्यसपछिको समयमा उग्र रूप लिएको यहाँको आन्दोलनलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय, बाराको अगुवाइमा वार्ता भयो र पुस ८ गते तीन बुँदे सहमतिमा बन्द स्कूल, वडा कार्यालय र अस्पतालको सेवा सञ्चालन भयो ।
पुस १५ गतेभित्र नगरसभा गरेर कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरूको तलब भुक्तान गर्ने, बन्द वडा कार्यालय, अस्पताल, शैक्षिक संस्था सञ्चालन गर्ने र मागहरू नगरप्रमुख किशोरी कलवारले क्रमशः सम्बोधन गर्दै जाने सहमति भएको थियो तर पुस १७ सम्म नगरसभा बस्न सकेको छैन र कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरूले तलब पाएका छैनन् ।
बन्द शैक्षिक संस्था, वडा कार्यालय सञ्चालनमा आएका छन् । नगर अस्पतालमा भने कर्मचारीहरू आवश्यक औषधि लगायत सामग्रीको अभावमा सेवा सञ्चालनमा ल्याउन सकेका छैनन् । स्वास्थ्यकर्मीहरू आउने, हाजिरी गर्ने र फर्कने गरेका छन् ।




