रौतहट । रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुँपैयासहित एक युवकलाई पक्राउ गरेको छ । रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा नक्कली नेपाली रुपैयाँसहित यादवलाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार छानबिन गर्दै जाँदा बुधबार साँझ ६ बजेको समयमा जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकमा थापिएको सुरक्षा चेकजाँचको क्रममा उक्त परिमाणमा नक्कली नेपाली रुपैयाँसहित यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीले बरामद भएको रकम तथा अन्य विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । कानुन अनुसार मुद्रा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवको साथबाट पाँच थान विभिन्न बैंकको एटिएम कार्ड, १६ लाख ६५ हजार रकम उल्लेख भएका तिन थान चेक र एक थान ओप्पोको मोबाइल पनि बरामद भएको प्रहरीको भनाइ छ ।
रौतहटमा विभिन्न समयमा पक्राउ परेका नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रहेका व्यक्तिहरूसितको सूक्ष्म अनुसन्धानको क्रममा पहिलो पटक ठूलो परिमाणमा नेपाली रुपैयाँसहित यादव पक्राउ परेका हुन् ।




