काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका २ घर भई काठमाडौं टोखा नगरपालिका ११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




