सुनसरी । स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपलिका ३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल ४ नम्बर गणका प्रपक्ता नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरसाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको डीएसपी खतिवडाले बताए । साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरेको हो ।
सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । राउतको साथबाट १ हजार दरका ९ सय ४, पाँच सय दरका २ हजार ५ सय ४, एक सय दरका १९, पाँच २० र १० दरका एक/एक थान नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ ।




