सिमरा । बारा पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन् । पचरौता नगरपालिका ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै बिहिबार जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् ।
किराना पसलको व्यवसाय गर्दै आएका अंसारीले मंसिर १६ गते ४ लाख २५ हजारमा सुन भनेर १०/१० ग्रामको पाँच वटा बिस्कुट खरिद गरेका थिए । सुन भनेर किनेको उक्त बिस्कुट गहना बनाउन खोज्दा पित्तल निस्किएपछि अंसारी न्याय खोज्दै प्रहरी कार्यालय पुगेका हुन् ।
अंसारीले प्रहरीमा दिएको जाहेरीमा बारागढी गाउँपालिका २ दौरवा बस्ने ४० वर्षीय विनय थारु चौधरीसँग उक्त धातु खरिद गरेको उल्लेख गरेका छन् ।
थारुले पसलमै आएर आफूसँग १०/१० ग्रामको सुनको पाँच वटा बिस्कुट रहेको र पैसाको खाँचो परेको हुँदा मिलाएर दिने बताएपछि आफूले उक्त धातु खरिद गरेको अंसारीको भनाइ छ ।




