काठमाडौं । लाइसेन्स नवीकरणमा ढिलाई गर्नाले अनावश्यक रुपमा जरिवाना तिर्नुपरेको गुनासो चालकहरूको छ । जरिवानामा परिन्छ भन्ने थाहा नहुँदा र नवीकरण गर्नुपर्ने मिति याद नुहुँदा धेरै जसो चालकहरु जरिवानामा पर्ने गरेका छन् ।
सवारी चालक अनुमति पत्रको नवीकरणमा ढिलाई भए कति लाग्छ जरिवाना ?
हाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र पनि सवारी चालक अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको १ वर्षसम्म १०० प्रतिशत, २ वर्षसम्म २०० प्रतिशत, ३ वर्षसम्म ३०० प्रतिशत, ४ वर्षसम्म ४०० प्रतिशत र ५ वर्षसम्म ५०० प्रतिशत थप जरिवाना र दस्तुर समेत तिर्नुपर्नेछ ।
यस्तो नवीकरण पाँच वर्षका लागि कायम रहनेछ । पाँच वर्षसम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्ध हुनेछ र यस्तो अनुमतिपत्रको नवीकरण नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।
सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागि ३ हजार रुपैयाँ, मझौला सवारीका लागि २ हजार ५ सय रुपैयाँ, मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागि २ हजार रुपैयाँ र मोटरसाइकल, स्कुटरका लागि १५०० रुपैयाँ लाग्नेछ ।
तर, एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएको हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्ने विभागले जनाएको छ ।




