काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले एक बालिका र दुई महिलाको उद्धारसमेत गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ९ पृथ्वीचोकका २९ वर्षीय प्रवीन गुरुङ, पोखरा १७ बिरौटाका २६ वर्षीय राजेश ठकुरी र पर्वतका ३ वर्षीय निर्मल मल्ल छन् ।
पोखरा ८ जाल्पारोडस्थित काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलाहरूलाई होटेलमा राम्रो काम लगाइदिन्छु भनी ल्याएर सुरुमा होटेलको सरसफाइको काम लगाइदिएका थिए ।
केही समयपछि बालिका तथा महिलालाई राम्रो कमाइ हुन्छ भनी विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरूसँग भेट गराई पोखराका विभिन्न होटेलमा लगी यौनशोषण गराउँदै आइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले बिहिबार राति सोही खाजा घरबाट एक बालिका र दुई महिलालाई बाहिर लैजान लागेको अवस्थामा उद्धार गरेको छ । पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।




