काठमाडौं । ड्युटीमा खटिएका प्रहरी माथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम रहेका छन् ।
थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरी माथि हातपात गरेको अभियोगमा रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा युवकलाई पक्राउ गरेको हो ।
नागढुंगाबाट आउँदै गरेको बा ५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरी माथि हातपात गरेको र त्यस लगत्तै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीको हेडसेटमा समेत क्षति भएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।




