वीरगंज । विशेष अदालतले गरेको एक फैसलाबाट एक विद्यालय निरीक्षकले कतिसम्म रकम हिनामिना गर्न सकेको भन्ने देखिएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसिया एक्लैलाई आइतबार ठहर भएको १८ वटा भ्रष्टाचार मुद्दाले यस्तो देखाएको हो ।
विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चौरसियालाई १८ वटा भिन्नाभिन्नै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । चौरसियाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका छुट्टाछुट्टै २० वटा मुद्दा दर्ता गरेको थियो । चौरसिया दुई वटामा सफाइ र बाँकी सबैमा दोषी ठहर भएका हुन् ।
चौरसिया लगायत गाउँपालिकाको शिक्षा शाखामा कार्यरत व्यक्ति, फरक फरक विद्यालयका शिक्षकहरू पनि भ्रष्टाचार ठहरिएका छन् । चौरसियाले विभिन्न गाउँपालिकाका विद्यालयमा कैयौंलाई फर्जी नियुक्ति दिएर तलब निकासा गरी भ्रष्टाचार गरेको अदालतको फैसलामा उल्लेख छ । त्यसैगरी विभिन्न विद्यालयका शिक्षक नियुक्तिमा सहजीकरण गरिदिने बहानामा परीक्षा नै नदिने व्यवस्था मिलाएर रकम हिनामिना गरेको पनि देखिएको छ ।
विभिन्न विद्यालयमा राहत, करार शिक्षक र बाल विकास सहयोगी नियुक्ति गर्दै अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय निरीक्षक चौरसियामाथि आरोप लगाएको थियो । उनीविरुद्ध अख्तियारले लगाएको आरोप विशेष अदालतले ठहर गरेपछि साबित भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ असोज १ देखि ६ सम्म चौरसिया लगायत विरुद्ध मुद्दा दर्ता गरेको थियो । चौरसिया सबै मुद्दामा जोडिएका थिए । अन्यलाई लागेको मुद्दा भने फरक फरक छन् । सहयोगी मतियारको भूमिका खेलेको भनेर पनि चौरसियाविरुद्ध मुद्दा दर्ता भएको थियो । विशेष अदालतले विभिन्न विद्यालयका शिक्षकहरूलाई फरक फरक कैद, बिगो र जरिवाना कायम गरेको छ ।






