बीबीसी । ‘लिटल बुद्ध’ भनेर पनि चिनिएका रामबहादुर बमजनलाई काठमाण्डूबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मङ्गलवार पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयता खोजी गरिँदै आएको थियो ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीले बीबीसीसँग भने: “आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप छन् । धेरै ठाउँबाट जाहेरी परेकाले प्रहरीले आज त्यसलाई एकीकृत पार्ने काम गरिरहेको छ ।”
“जाहेरी विवरण जुटाउने काम भइरहेको छ । जहाँ जहाँबाट जाहेरी परेको छ त्यहीँबाट कानुनी प्रक्रिया बमोजिम मुद्दा चल्नेछ,” प्रवक्ता अधिकारीले भने । पक्राउ र उनीमाथि लागेका अभियोग सम्बन्धी विस्तृत विवरण बुधवार सार्वजनिक गर्ने सीआईबीको तयारी छ ।
घटनाक्रम
मध्य तराईको बाराको एउटा एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । सोह्र वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । त्यसयताका वर्षमा उनी विभिन्न विवादमा जोडिन थाले ।
पाँच वर्षअघि नै सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका ‘अनुयायीहरू’ त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका मुद्दामा प्रहरीले छानबिन थालेको थियो ।
त्योसँगै सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो । २०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन भएका वाइबाका परिवारका तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान सुरु गरेको थियो ।
तर सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजतलास तीव्र पारिएको थियो । बारा, सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनका आश्रम थिए ।
को हुन् बमजन ?
बमजन आबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो । उनका मातापिता किसान थिए । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो ।
उनका आमाबुवाका नौ सन्तान छन् । उनी साहिँला छोरा हुन् । उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ । “उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन् । उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे,” वेबसाइटमा उल्लेख गरिएको छ ।
सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिएर ध्यानमा लीन भएको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने दाबी गरेका थिए ।
उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए । उनलाई खास गरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘लिटल बुद्ध’को उपनाम पनि दिएका थिए ।
तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो । सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ ।
तपस्यामा रुचि र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो । अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो ।
नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे ।
देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगे । त्यसै कारण उनले “भित्रभित्रै असीमित शक्ति” आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणमा उल्लेख छ ।




