कैलाली । कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा अछामका एक दम्पत्तीको मृत्यु भएको छ । कैलालीको कुइने चिसापानी सडक खण्डको पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तीको निधन भएको हो ।
अछाम पञ्चदेवल विनायक नगरपालिका बस्ने खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको हो । ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उनीहरु अछामबाट बर्दियाको भुरीगाँउ जादै थिए ।
हिजो साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोटका सहायताले उद्धार गरिएपनि बचाउन नसकिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाँउमा बस्दै आएका थिए । छोरा छोरी भेट्न हिडेका ढकाल दम्पत्ती कर्णाली नदीमा खसेका थिए ।




